सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रास्वपा महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि सहभागी हुने

आइतबार, असार ७ २०८३

भरतपुर (चितवन)  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको रास्वपाले जनाएको छ।

शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनिष झाले देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट सम्पन्न भइसकेको र महाधिवेशनस्थल, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत व्यवस्थापनको काम सकिएको जानकारी दिए।

भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।

प्रवक्ता झाले रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको भन्दै राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन तयार भइसकेको बताए। उनका अनुसार शनिबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनसमेत पारित गरेको छ।

केन्द्रीय समितिको बैठकले पार्टीको संरचनामा समेत परिवर्तन गर्ने निर्णय गरेको छ। सचिवालयको प्रस्तावअनुसार हालको १२१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर १५१ सदस्यीय बनाइने भएको छ। साथै, पदाधिकारी तहमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

पार्टीका सचिवालय सदस्य तथा विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले प्रदेश सभापतिलाई पदेन सदस्य राख्ने गरी केन्द्रीय समिति विस्तार गर्ने निर्णय भएको बताए। संशोधित व्यवस्थाअनुसार उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमध्ये कम्तीमा एक जना महिला अनिवार्य रहनेछन्।

विधान संशोधनपछि १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ५१ जना सदस्य पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ भने ९९ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन्। सभापतिबाट चयन हुने सदस्यहरू समावेशिताका आधारमा छनोट गरिने र प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

प्रवक्ता झाले महाधिवेशनको मुख्य प्राथमिकता संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने र नयाँ नेतृत्व चयन गर्ने रहेको बताए। महाधिवेशनमा विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने उनले जानकारी दिए।

उनले आगामी कार्यदिशा निर्धारणसँगै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै निर्वाचनमा प्राप्त मतलाई पार्टीको ‘आम्दानी’का रूपमा लिएको बताए। रास्वपाले टोलस्तरसम्म संगठन विस्तार गर्ने नीति अवलम्बन गरेको र भ्रातृ संगठन नबनाउने अडान कायम रहेको उनको भनाइ थियो।

महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन्। त्यसमध्ये ३०० प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी पार्टीका दुई महामन्त्रीलाई दिइएको छ। रास्वपाले हाल पार्टी सदस्य संख्या पाँच लाख पुगेको दाबी गरेको छ।

सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा संगठनात्मक अधिवेशन सम्पन्न गरिएको छ। यस्तै छ प्रदेशका ६४ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेको छ। मधेस प्रदेश तथा निर्वाचन हुन बाँकी १३ जिल्लाका तदर्थ समितिबाट पनि महाधिवेशनमा प्रतिनिधित्व सुनिश्चित गरिएको उनले बताए।