काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका सकारात्मक काममा आफ्नो दलले साथ र समर्थन गर्ने तथा गलत कामको विरोध गर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सरकारले नदी किनारमा रहेका सुकुमबासी बस्ती हटाउने कार्य गरेकोमा स्वागत गरेकाे स्मरण गराए। उहाँनले सार्वजनिक हितका काममा सरकारलाई सहयोग गर्ने नीति राप्रपाको रहेको बताए ।
शाहीले करको दर परिवर्तनसम्बन्धी विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे ।
संसदीय व्यवस्थामा प्रत्येक सांसदको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले एक जना सांसदको आवाज र योगदानलाई पनि समान महत्व दिनुपर्ने बताए ।
उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सरकार र प्रतिपक्षबीच सहकार्य र उत्तरदायित्व आवश्यक रहेको धारणा व्यक्त गरे ।