काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले देशप्रतिको प्रेम र समर्पणकै कारण आफू सांसद तथा मन्त्री बन्न पुगेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले रोचक शैलीमा आफ्नो जीवनयात्रा प्रस्तुत गरेका हुन्।
उनले ‘पिरतीले जोगी बनायो’ भन्ने पुरानो गीत स्मरण गर्दै आफूलाई पनि देशसँगको पिरतीले राजनीतिमा ल्याएको बताए। सुरुवातमा गाउँसँग प्रेम बसेको र त्यसपछि जिल्ला हुँदै सिंगो देशप्रति समर्पण बढ्दै गएको उनको भनाइ थियो।
“म संसद् हुने वा मन्त्री हुने मान्छे होइनँ। तर पिरतीले मलाई सांसद र मन्त्री बनायो,” मन्त्री पुनले भने, “मेरो पिरती देशसँग बसेको हो। सुरुमा गाउँसँग बस्यो, गाउँबाट जिल्ला र जिल्लाबाट देशसँग बस्यो। त्यसैले अहिले म जोगी भएको छु।”
अमेरिकाबाट नेपाल फर्किएपछि गाउँ विकास र सामाजिक रूपान्तरणका काममा सक्रिय हुँदा देशसँगको सम्बन्ध अझ गहिरो बन्दै गएको उनले बताए। आफूलाई व्यावहारिक रूपमा पनि ‘जोगी’ जस्तै अनुभव हुने उनको टिप्पणी थियो।
मन्त्री पुनको उक्त अभिव्यक्तिले संसदमा केहीबेर हल्का र रोचक वातावरण सिर्जना गरेको थियो।