शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीको सचिवालयले धम्की दिएको भन्दै विपक्षीको आपत्ति

बिहिबार, असार ४ २०८३

काठमाडौं । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदमा जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनीहरूले प्रधानमन्त्रीका पछिल्ला गतिविधि र अभिव्यक्तिले संवैधानिक मर्यादा तथा राष्ट्रिय हितमा प्रश्न उठाएको बताएका हुन्।

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ, एमाले सांसद लक्ष्मीप्रसाद पोखरेल तथा नेकपा सांसद रमेशकुमार मल्लले प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग गर्दै संवैधानिक पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, ठेकदारलाई खुट्टा भाँच्ने धम्की दिने तथा कर्मचारीहरूलाई त्रसित बनाउने गतिविधि रोक्न आग्रह गरेका छन्।

सांसद केरुङले संवैधानिक निकायका प्रमुखहरूलाई समेत प्रधानमन्त्री कार्यालयमा बोलाएर दबाब दिने काम भइरहेको आरोप लगाए। यस्तै एमाले सांसद पोखरेलले दार्चुलादेखि ताप्लेजुङसम्मका विभिन्न क्षेत्रमा भारतले नेपाली भूमि अतिक्रमण गरिरहेको दाबी गर्दै प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएको आरोप लगाए। उनले उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत भएको जिकिर गरे।

नेकपा सांसद रमेशकुमार मल्लले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखले रुलिङ गर्नुपर्ने माग राखे। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको भनाइप्रति सरकारको आधिकारिक धारणा स्पष्ट पार्न समेत माग गरेका छन्।