काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयक, २०८३ पारित गर्ने कार्यसूची रहेको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने छन्। त्यसअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका दफाहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
आजको बैठकमा शिक्षा तथा खेलकुद, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानून, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा परराष्ट्र मन्त्रालयका बजेट शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
यसैगरी अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि उठेका जिज्ञासाको पनि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।
बैठकमा विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू पनि निर्णयार्थ प्रस्तुत गरिनेछन्। सभामुख अर्यालले २० जना सांसदद्वारा पेश गरिएका खर्च कटौती प्रस्तावमाथि निर्णय प्रक्रिया अघि बढाउने छन् ।
विनियोजन विधेयक पारित गर्ने अन्तिम चरणमा पुगेको प्रतिनिधिसभाको आजको बैठकलाई चालु बजेट अधिवेशनको महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।