काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा बेइजिङ पुगेका मन्त्री खनालले भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता तथा विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए।
भ्रमणका क्रममा मन्त्री खनाल र विदेशमन्त्री वाङ यीबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आर्थिक तथा विकास सहकार्य, व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि तथा जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटवार्ताका क्रममा नेपालले ‘एक चीन’ सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएको थियो भने चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति समर्थन पुनः व्यक्त गरेको बताइएको छ। दुवै पक्षले विगतमा सहमति भएका परियोजनाहरूको शीघ्र कार्यान्वयन तथा बहुपक्षीय मञ्चमा सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन्।
मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङ तथा चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, राजनीतिक संवाद तथा दलगत सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।
भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी हुँदै मन्त्री खनालले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए। उनले नेपालमा लगानी तथा व्यवसायमैत्री वातावरण निर्माणप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक समृद्धिको साझा यात्रामा सहभागी हुन आग्रह गरेका थिए।
त्यसैगरी, मन्त्री खनालले चीनस्थित नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्दै सरकारका प्राथमिकताबारे जानकारी गराएका थिए। उनले बेइजिङस्थित नेपाली दूतावासलाई आर्थिक तथा विकास कूटनीति प्रभावकारी बनाउन र चीनमा रहेका नेपालीको हित संरक्षणमा सक्रिय रहन निर्देशन दिएका थिए।
भ्रमणका दौरान मन्त्री खनालले नेपालका राष्ट्रिय विभूति अरनिको द्वारा डिजाइन गरिएको बेइजिङस्थित श्वेत स्तूपको अवलोकन गर्नुका साथै विज्ञान तथा प्रविधिसम्बन्धी संस्थाहरूको भ्रमण गरी नेपाल–चीन सहकार्यलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणले नेपाल–चीनबीचको मैत्रीपूर्ण र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक तथा विकास कूटनीति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।