सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रास्वपा महाधिवेशनका पाहुनालाई चितवनका होटलमा छुट सुविधा

बुधबार, असार ३ २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा आउने पाहुनाको सम्मानमा चितवनका होटल व्यवसायीले विशेष छुट सुविधा दिने भएका छन्।

असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने महाधिवेशनमा सहभागी प्रतिनिधि र पर्यवेक्षक पाहुनाका लागि आवास, खाना तथा पेयपदार्थमा छुट व्यवस्था गरिएको होटल व्यवसायी संघ चितवनले जनाएको छ।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्यालका अनुसार पाहुनाका लागि आवासमा २५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० प्रतिशत छुट दिइनेछ।

भरतपुर महानगरपालिका र गैँडाकोट क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टहरूले यो छुट सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। साथै, पाहुनाले छुट पाए–नपाएको अनुगमन गर्न छुट्टै समिति समेत गठन गरिएको संघले जनाएको छ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले संघमा आबद्ध ९० होटल रहेको र ती होटलको कुल क्षमता करिब १० हजार पाहुना अट्ने रहेको जानकारी दिए ।

उहाँका अनुसार चिया पसलदेखि रेष्टुरेन्ट तथा होटलसम्म गरी संघमा ६७१ सदस्य रहेका छन्।

महाधिवेशनका लागि गठित आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमले चितवनका होटलका तीन हजारभन्दा बढी कोठा प्रतिनिधि र पर्यवेक्षकका लागि प्रयोग हुने बताए।

महाधिवेशनमा सहभागी प्रतिनिधिले आवास खर्च आफैं व्यहोर्ने व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ।