काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै सदनको निष्पक्षता र गरिमा कायम गर्न आग्रह गरेको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोहन यादवले सभामुख अर्यालले आफ्नो पूर्व राजनीतिक दलसँगको सम्बन्धबाट पूर्ण रूपमा अलग हुन नसकेको आरोप लगाए ।
उनले सभामुखलाई लक्षित गर्दै पूर्वपार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सम्बन्धबाट अझै पनि मानसिक रूपमा अलग हुन नसकेको हो कि भन्ने प्रश्न उठाउनुभयो।
सांसद यादवले प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविमा नकारात्मक असर पारेको दाबी गर्दै त्यस विषयमा सभामुखले रुलिङ गर्नुपर्ने माग गरे ।
उनका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल–भारत सम्बन्धबारे अनावश्यक प्रश्न सिर्जना गरेको छ भने राष्ट्रियताको विषयलाई समेत विवादमा तानेको छ।
यादवले राष्ट्रिय महत्वको विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई सत्तारुढ दलका सांसदहरूले ताली बजाएर समर्थन गरेकोप्रति पनि आश्चर्य र खेद व्यक्त गरे ।
संसद् तीन करोड नेपालीको आशा, विश्वास र पूर्वजहरूको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको उल्लेख गर्दै उनले यसको गरिमा कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए ।
प्रतिपक्षले उठाएका विषयहरूलाई बेवास्ता गरिएको आरोप लगाउँदै सांसद यादवले वर्तमान संसदीय अभ्यास क्रमशः हास्यास्पद बन्दै गएको टिप्पणी समेत गरे ।