सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

देउवा दम्पती साउनभित्र नेपाल फर्किने

बुधबार, असार ३ २०८३

काठमाडौं, ३ असार । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई गराएका छन्।

देउवा दम्पतीले जेठ २८ गते इमेलमार्फत विभागलाई पत्राचार गर्दै दुई महिनाभित्र स्वदेश फर्किएर अनुसन्धानमा पूर्ण सहयोग गर्न आफूहरू तयार रहेको बताएका हुन्।

विभागका महानिर्देशकलाई सम्बोधन गरिएको चार पृष्ठ लामो इमेलमा हाल आफूहरू स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेको उल्लेख गरिएको छ। साथै, देश छाडेर फरार भएको वा अनुसन्धानमा उपस्थित नभएको जस्तो निष्कर्ष निकालेर पक्राउ पुर्जी जारी गर्ने तथा नेपाल फर्किने क्रममा कुनै अवरोध सिर्जना नगर्न विभागसँग आग्रह गरिएको छ।

इमेलमार्फत सार्वजनिक गरिएको धारणा अनुसार देउवा दम्पतीले आफूहरू सार्वजनिक उत्तरदायित्व वहन गरिसकेका राजनीतिक व्यक्तित्व भएकाले अनुसन्धान प्रक्रियामा कुनै अवरोध पुर्‍याउने उद्देश्य नरहेको स्पष्ट पारेका छन्।

उनीहरूले कानुनी तथा पारदर्शी प्रक्रियामार्फत अनुसन्धानमा सहयोग गर्न र खुला प्रमाणका आधारमा आफ्नो निर्दोषिता पुष्टि गर्न तयार रहेको जिकिर गरेका छन्।

यद्यपि, हाल आफूहरू कुन देशमा बसोबास गरिरहेका छन् भन्ने विषय इमेलमा खुलाइएको छैन। देउवा दम्पती गत फागुन १३ गते सिंगापुर गएका थिए। त्यसपछि उनीहरू हङकङमा समेत देखिएको भए पनि पछिल्लो बसाइबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

पत्राचारमा उनीहरूले आफूहरूविरुद्ध कुनै धरपकड नगर्न सर्वोच्च अदालतबाट गत जेठ ११ गते अन्तरिम आदेश जारी भइसकेको विषय पनि विभागलाई स्मरण गराएका छन्।

अदालतमा भएको बहसका क्रममा ठोस प्रमाणबिना आफूहरू विदेशमा रहेको आधारमा इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने तयारी भइरहेको जानकारी कानुनी व्यवसायीबाट पाएपछि विभागलाई आफ्नो धारणा पठाउनुपरेको देउवाले उल्लेख गरेका छन्।

गत असोजमा परेको उजुरीपछि अनुसन्धान टोली गठन भई आफ्नो क्षतिग्रस्त भवनमा अनुसन्धान भए पनि आफू फागुन १३ गते नेपालबाट बाहिरिने दिनसम्म विभागबाट उपस्थित हुन कुनै औपचारिक पत्र प्राप्त नभएको दाबी समेत देउवा दम्पतीले गरेका छन्।