काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ। संघीय संसद् भवन, सिंहदरबारमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ तथा स्पष्टीकरण दिने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकहरूमाथि उठेका जिज्ञासाको जवाफ दिइनेछ।
यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रणसँग सम्बन्धित विषय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेटसम्बन्धी विषयमा सांसदहरूले उठाएका प्रश्नको पनि सम्बन्धित मन्त्रीहरूले उत्तर दिनेछन्।
आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रक्रियाअघि मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने भएकाले आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।