काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्ने उद्देश्यले सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यो खानेपानी वितरणका लागि नेपालमा हालसम्म प्रयोग गरिएको सबैभन्दा ठूलो व्यासको पाइप हो।
निर्देशनालय प्रमुख तथा इन्जिनियर रामकुमार श्रेष्ठले भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी र पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
उनका अनुसार पाँच क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ भने अन्य प्रक्रिया पनि चाँडै अघि बढाइनेछ।
मेलम्चीको पानी उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पु¥याउन निर्देशनालयले दिन र रात दुवै सिफ्टमा काम गरिरहेको जनाएको छ। हाल विभिन्न स्थानमा रिजर्भ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य आवश्यक पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका छन्।
निर्देशनालयका अनुसार बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गरिनेछ।
प्रणाली हस्तान्तरणपछि काठमाडौँ उपत्यकावासीका घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण गर्न सकिने अपेक्षा गरिएको इन्जिनियर श्रेष्ठले बताए ।