काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले सिमाना र द्विपक्षीय सम्बन्धका विषयमा देखिएका घटनाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन्।
आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले सिमानासम्बन्धी विषयमा उत्पन्न विवाद समाधानमा सरकार गम्भीर हुनुपर्ने माग गरेका हुन्।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते सिमानासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गर्नुभयो। उहाँले परराष्ट्रमन्त्री शिशिर खनाल हाल चीन भ्रमणमा रहँदा त्रिपक्षीय सीमासम्बन्धी छलफल भएको वा नभएको विषयमा स्पष्ट जानकारी माग गरे ।
उनले सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश, दार्चुलामा बिना अनुमति भारतीय हेलिकोप्टर प्रवेश तथा भारततर्फ चिया निर्यातमा अवरोध जस्ता विषय उठाउँदै सरकारलाई कूटनीतिक रूपमा कडा कदम चाल्न आग्रह गरे। साथै फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लाग्ने विषय उठाउँदै निःशुल्क प्रसारणको व्यवस्था गर्न पनि माग गरे।
नेपाली कांग्रेसकी सांसद रेखा कुमारी यादवले पनि प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टता आवश्यक रहेको बताउँदै सुस्ता लगायतका सीमा क्षेत्रमा देखिएका समस्याप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
त्यस्तै नेकपा (एमाले)की सांसद टुका भद्रा हमालले उक्त विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गर्दै राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने बताइन् ।
श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले भारतले सीमाक्षेत्रमा बनाएको बाँधका कारण रौतहटको गौर क्षेत्रमा डुबान समस्या देखिएको उल्लेख गर्दै तत्काल समाधान खोज्न आग्रह गर्नुभयो। साथै राजविराजमा लामो समयदेखि जग्गाधनी पुर्जा नपाएको विषयमा पनि ध्यान दिनुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले पनि राष्ट्रियता र सीमासम्बन्धी विषयमा सरकार गम्भीर हुनुपर्ने भन्दै प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र संसद्को अभिलेखबाट हटाउन माग गरिन् ।
सांसदहरूले सीमासम्बन्धी संवेदनशील विषयमा कूटनीतिक र संस्थागत रूपमा तत्काल समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।