काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चारदिने औपचारिक भ्रमणका क्रममा बेइजिङ पुग्नुभएको छ। उहाँ गएराति चीनतर्फ प्रस्थान गरेका छन्।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री खनाल स्थानीय समयअनुसार आज अपराह्न बेइजिङ पुगेका हुन्। विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।
मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ स्वागत समारोह आयोजना गर्ने भएको छ। उक्त समारोहमा उहाँले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग नेपाल–चीन सम्बन्ध सुदृढ गर्ने तथा आपसी सहकार्य विस्तार गर्ने विषयमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीन सरकारका उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन् । सम्मेलनका क्रममा उनले चिनियाँ उद्यमी तथा व्यवसायीसँग छलफल गर्दै नेपालमा लगानीका अवसरबारे जानकारी गराउने छन् ।
मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।