सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

ड्युटीमा खटिएका सशस्त्र प्रहरीको ट्रकको ठक्करबाट मृत्यु

आइतबार, जेष्ठ ३१ २०८३

 बर्दिया । ड्युटीमा खटिएका एक सशस्त्र प्रहरी सहायक हवल्दारको ट्रकको ठक्करबाट मृत्यु भएको छ भने अर्का एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्।

जिल्लाको बाँसगढी नगरपालिका–५ मोतिपुर निवासी ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको आइतबार बिहान भएको दुर्घटनामा मृत्यु भएको हो। दुर्घटनामा बाँसगढी नगरपालिका–८ ककौरा निवासी ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपक कुमार जङ शाह घाइते भएका छन्।

प्रहरीका अनुसार ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा सीमा क्षेत्रको ५७ नम्बर पिलर नजिकबाट दुई वटा भैंसी र एउटा पाडा नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका पशुहरूलाई गुलरिया भन्सार कार्यालयतर्फ लैजाने क्रममा गुलरिया नगरपालिका–११ लालपुरमा आइतबार बिहान करिब ५ः१५ बजे पछाडिबाट आएको ट्रकले ठक्कर दिएको हो।

नेपालगञ्जबाट गुलरियातर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले प्रहरी टोलीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै प्रहरीलाई उपचारका लागि बर्दिया अस्पताल पुर्‍याइएको थियो। अस्पतालले सहायक हवल्दार कडेललाई मृत घोषणा गरेको थियो।

घाइते प्रहरी जवान शाहको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएको छ। मृतक कडेल र घाइते शाह दुवै सशस्त्र प्रहरी फर्वार्ड अपरेटिङ बेस गणेशपुरमा कार्यरत रहेको जनाइएको छ।