सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले नियन्त्रणमा लिएर भीरबाट खसालिदिए

आइतबार, जेष्ठ ३१ २०८३

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ बासपानी निवासी धनादेवी धामीको जीविकोपार्जनको मुख्य आधार बनेको टेम्पो डिभिजन वन कार्यालय धनगढीको कारबाहीका क्रममा क्षतिग्रस्त भएपछि उनको परिवार आर्थिक संकटमा परेको छ।

धामीका अनुसार गाईमारेडाँडा क्षेत्रमा सडकछेउमा पार्क गरिएको टेम्पोबाट सामान झार्ने क्रममा वन कार्यालयका कर्मचारीहरूले टेम्पोलाई नियन्त्रणमा लिएर भीरबाट खसालेका थिए। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक चर्चा र आलोचना भइरहेको छ।

टेम्पोमा गम्भीर क्षति पुगेपछि आफ्नो आम्दानीको एकमात्र स्रोत बन्द भएको बताउँदै धामीले दुःख व्यक्त गरिन्। “हामीले सामान झार्न दिनुहोस्, गाडी हामी आफैं घर लैजान्छौँ भनेका थियौँ,” उनले भनिन्, “तर हाम्रो कुरा कसैले सुनेन। टेम्पो भीरबाट खसालिएपछि अहिले परिवारको जीवनयापन नै कठिन बनेको छ।”

यता डिभिजन वन कार्यालय धनगढीले भने वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत उक्त क्षेत्रमा रहेका करिब ४७ वटा संरचना हटाइएको जनाएको छ। कार्यालयका अनुसार पटक–पटक हटाउन आग्रह गर्दा पनि अटेर गरिएपछि कारबाही गर्नुपरेको हो।

वन कार्यालयका सूचना अधिकारी जीवछ यादवले उक्त टेम्पो व्यापारिक प्रयोजनका लागि प्रयोग भइरहेको र पटक–पटक चेतावनी दिँदा पनि नहटाइएकाले नियन्त्रणको क्रममा हटाइएको दाबी गरे ।

घटनापछि स्थानीयवासीहरूले कानुन कार्यान्वयनका नाममा सर्वसाधारणको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने गरी कारबाही गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

पीडित धामीले यदि आफूबाट कुनै गल्ती भएको भए कानुनी प्रक्रियाअनुसार कारबाही हुनुपर्ने भए पनि परिवारको रोजीरोटी नै समाप्त हुने गरी गरिएको कदम अन्यायपूर्ण भएको बताइन्। “यदि मैले गल्ती गरेकी भए कानुनी रूपमा कारबाही हुनुपर्थ्यो, तर मेरो परिवारको रोजीरोटी नै नष्ट हुने गरी गरिएको यो कदम अन्यायपूर्ण छ,” उनले भनिन्।

यसैबीच, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटनाबारे प्रारम्भिक जानकारी प्राप्त भएको र आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको बताए। उनका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीमार्फत पीडितसँग समन्वय भइरहेको छ भने सम्बन्धित निकायसँग थप जानकारी संकलन गर्ने काम जारी छ।