सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

आइतबार, जेष्ठ ३१ २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी बेइजिङतर्फ प्रस्थान गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ। साथै उनले चीन सरकारका उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

भ्रमणका दौरान बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन्। नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यसहित आयोजना हुने उक्त सम्मेलनमा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउनेछन्।

त्यसैगरी, परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा उनी सहभागी हुनेछन्। सो अवसरमा चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।