सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अर्थमन्त्रीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा प्रतिपक्षीको विरोध

शुक्रबार, जेष्ठ २९ २०८३

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्। बिहीबार आंशिक रूपमा सुचारु भएको संसद बैठक शुक्रबार फेरि अवरोधको सामना गर्न पुगेको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमाथिको छलफलका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी सांसदहरूले संसदमा विरोध गरेका हुन्।

बैठकमा बोल्दै नेकपाका सांसद वर्षामान पुनले अर्थमन्त्रीले संसद र संसदीय समितिको गरिमामाथि प्रहार गरेको आरोप लगाए। उनले अर्थमन्त्रीले करका दर हेरफेर गरेको स्वीकार्दै सांसदहरूलाई धम्क्याउने शैलीमा अभिव्यक्ति दिएको दाबी गरे।

पुनले अर्थमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्दै सभामुखबाट आवश्यक रुलिङको अपेक्षा समेत व्यक्त गरे। उनले भने, “अर्थमन्त्रीबाट संसद र समितिको अवमूल्यन भएको छ। सांसदहरूलाई धम्क्याउने प्रयास गरिएको छ। सातवटा करका दर परिवर्तन गरेको कुरा स्वयं स्वीकार्नु आर्थिक अपराध हो। उल्टै ‘मैले गरेकै हुँ’ भन्ने शैलीमा धम्कीपूर्ण अभिव्यक्ति दिनु गम्भीर विषय हो। यसबारे सभामुखले रुलिङ गर्नुपर्छ र संसदीय छानबिन अघि बढाउनुपर्छ।”

बिहीबार आर्थिक विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई लक्षित गर्दै “तपाईंहरूको काण्डबारे पनि म अनभिज्ञ छैन, ती पनि खुल्दै जानेछन्” भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले आपत्ति जनाउँदै संसदमा विरोध जारी राखेका हुन्।

अर्थमन्त्रीको भनाइ र त्यसप्रति उठेको विरोधका कारण प्रतिनिधिसभाको बैठक प्रभावित बनेको छ।