सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अध्ययन भिसा सिफारिसमा अनियमितता, छानबिनका लागि गृह मन्त्रालयलाई पत्र

शुक्रबार, जेष्ठ २९ २०८३

काठमाडौं । काठमाडौंस्थित वाल्मिकी विद्यापीठको नामबाट विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिसमा नक्कली कागजात तथा शंकास्पद रसिद प्रयोग भएको भेटिएपछि शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले छानबिनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

मन्त्रालयको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा अध्ययन भिसाका लागि सिफारिस गरिएका व्यक्तिहरू सम्बन्धित शैक्षिक संस्थामा वास्तविक विद्यार्थीका रूपमा अध्ययनरत नरहेको पाइएको जनाएको छ। अनुगमनका क्रममा पेस गरिएका केही पुराना पत्र तथा रसिदहरू समेत नक्कली रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कागजातको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेपछि शिक्षा मन्त्रालयले सम्बन्धित अध्ययन भिसा सिफारिस पत्र खारेज गरिसकेको छ। मन्त्रालयका अनुसार अध्ययनका नाममा भिसा प्रक्रियाको दुरुपयोग भएको आशंकामा थप अनुसन्धान आवश्यक देखिएकाले गृह मन्त्रालयलाई विस्तृत छानबिन गर्न अनुरोध गरिएको हो।

मन्त्रालयले घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान गरी प्रचलित कानुनअनुसार कडा कारबाही गर्न आग्रह गरेको छ। साथै, भविष्यमा अध्ययन भिसा सिफारिस प्रक्रियाको दुरुपयोग रोक्न शिक्षा, गृह तथा अध्यागमनसम्बन्धी निकायबीच प्रभावकारी समन्वय र निगरानी व्यवस्था आवश्यक रहेको उल्लेख गरेको छ।

यस घटनाले अध्ययन भिसा सिफारिस प्रक्रियाको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाएको भन्दै सम्बन्धित निकायहरूले थप सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको मन्त्रालयको भनाइ छ।