काठमाडौँ । सुदूरपश्चिम प्रदेशका २६ स्थानीय तहले आफूहरूलाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ। खेतीपातीको मुख्य याम धान रोपाइँ सुरु भइसकेको अवस्थामा मल ढुवानी र वितरणमा ढिलाइ हुँदा किसान प्रभावित हुने जोखिम बढेको छ।
प्रदेशको कृषि, वन तथा वातावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि आवश्यक चासो नदिएको जनाएको छ। मन्त्रालयले तत्काल मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड का डिपोमार्फत किसानलाई सिधै मल बिक्री गरिने चेतावनी दिएको छ।
मन्त्रालयका अनुसार डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, डोटी र अछामका विभिन्न स्थानीय तहले तोकिएको परिमाणको मल अझै उठाएका छैनन्। कैलालीमा गोदावरी नगरपालिका ले २१ हजार २३० किलो, गौरीगंगा नगरपालिका ले ६ हजार ६९० किलो, जानकी गाउँपालिका ले १० हजार २५० किलो तथा धनगढी उपमहानगरपालिका ले २१ हजार ५०० किलो रासायनिक मल उठाएका छैनन्।
कञ्चनपुरमा भीमदत्त नगरपालिका ले १ लाख ६ हजार ८०० किलो र बेदकोट नगरपालिका ले १ लाख ६ हजार ४०० किलो मल नउठाएको तथ्यांकमा उल्लेख छ।
अछामका साँफेबगर नगरपालिका, बन्नीगढी जयगढ गाउँपालिका र कमलबजार नगरपालिका ले पनि मल ढुवानी गर्न बाँकी रहेको जनाइएको छ।
मन्त्रालयका अनुसार स्थानीय तहले मल उठाउने र किसानसम्म वितरण गर्ने प्रक्रियामा आवश्यक समन्वय नगर्दा समस्या उत्पन्न भएको हो। वर्षे धान रोपाइँको समय नजिकिँदै जाँदा मल वितरणमा भएको ढिलाइले उत्पादनमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
सुदूरपश्चिममा कृषि सामग्री कम्पनीमार्फत वितरण हुने मलमध्ये ५२ प्रतिशत कैलाली र ३२ प्रतिशत कञ्चनपुरका लागि छुट्याइएको छ भने बाँकी १६ प्रतिशत अन्य पहाडी जिल्लाका स्थानीय तहका लागि विनियोजन गरिएको छ। त्यस्तै, साल्ट ट्रेडिङमार्फत वितरण हुने मलमध्ये ३४ प्रतिशत कैलाली र ५४ प्रतिशत कञ्चनपुरमा जाने व्यवस्था छ।
प्रदेशका ४३ स्थानीय तहमध्ये हालसम्म १७ पालिकाले मात्रै मल उठाएका छन् भने २६ पालिकाले अझै उठाउन नसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले किसानलाई समयमै मल उपलब्ध गराउन सम्बन्धित पालिका र सरोकारवाला निकायलाई आवश्यक समन्वय र वितरण प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिएको छ।