काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्नेछ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफललाई निरन्तरता दिने कार्यसूची रहेको छ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम छ।
यस्तै, अर्थमन्त्री वाग्लेले बैठकमा विनियोजन विधेयक–२०८३ र राष्ट्र ऋण उठाउने विधेयक–२०८३ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने तयारी गरिएको छ।
सरकारले प्रस्तुत गरेको बजेटमाथि संसदमा जारी छलफललाई आजको बैठकले थप निष्कर्षतर्फ लैजाने अपेक्षा गरिएको छ।