काठमाडौं । प्रतिनिधिसभामा जारी अवरोध हटाउने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न दलका नेताहरूसँग छलफल थालेका छन्।
बुधबार दिउँसो लामिछानेले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म आङदेम्बेलगायत विपक्षी तथा अन्य दलका नेताहरूसँग छलफल गरेका हुन्। छलफलमा नेकपा एमालेका केही सांसद, नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन तथा राप्रपाकी सांसद खुश्बु ओलीलगायतको सहभागिता रहेको जनाइएको छ।
छलफलपछि विपक्षी दलहरू केही लचिलो बनेको बताइएको छ। संसदमा जारी अवरोध अन्त्य गर्ने र सहमतिका आधारमा बैठक सञ्चालन गर्ने विषयमा सकारात्मक संवाद भएको स्रोतहरूले बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्। विपक्षीहरूको माग छ कि प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्छ र संसदमा स्पष्ट धारणा राख्नुपर्छ।
यसअघि पनि लामिछानेले विपक्षी दलका नेताहरूसँग भेटवार्ता गरी संसदको गतिरोध अन्त्य गर्न पहल गरेका थिए। उनले प्रधानमन्त्रीको सट्टा आफूले संसदमा जवाफ दिन तयार रहेको भन्दै अवरोध अन्त्य गर्न आग्रह गरेको स्रोतले जनाएको छ।
संसद सञ्चालनबारे जारी छलफलका कारण बुधबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन सकेन। बैठक दिउँसो साढे १२ बजेसम्म पनि प्रारम्भ हुन नसकेको संसद सचिवालयले जनाएको छ।
संसदीय गतिरोध अन्त्यका लागि दलहरूबीच संवाद जारी रहेकाले सहमति जुटेमा प्रतिनिधिसभाको बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ।