सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

पाँच जनाले मतदान गरेपछि रास्वपा बागमती अधिवेशनमा मतदान अवरुद्ध

मतदाता नामावली र उम्मेदवार सूची विवादित

बुधबार, जेष्ठ २७ २०८३

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सुरु गरिएको मतदान प्रक्रिया विवादका कारण अवरुद्ध भएको छ। मंगलबार राति सुरु भएको मतदान प्रतिनिधिहरूको विरोधपछि केही समयमै स्थगित गरिएको हो।

हेटौँडा–१ स्थित हिमालयन दरबारमा मंगलबार राति करिब १:३० बजे मतदान प्रक्रिया सुरु गरिएको थियो। निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरी मतदान थालेको भए पनि करिब ३० मिनेटभित्रै विवाद चर्किएपछि प्रक्रिया रोक्नुपरेको थियो। समितिका अनुसार पाँच जनाले मात्र मतदान गरेपछि विभिन्न विषयमा आपत्ति उठेको थियो।

प्रतिनिधिहरूले विशेषगरी भक्तपुर जिल्लासम्बन्धी मतदाता नामावली, निर्वाचन क्षेत्र तथा क्लस्टरअनुसार उम्मेदवारहरूको विवरणमा त्रुटि रहेको भन्दै विरोध जनाएका थिए। उम्मेदवार सूची र मतदाता नामावलीमा स्पष्टता नभएको आरोप लगाउँदै उनीहरूले निर्वाचन समितिसमक्ष गुनासो गरेका थिए।

विवाद बढ्दै जाँदा अधिवेशनस्थलमा नाराबाजी र होहल्लासमेत भएको थियो। केही प्रतिनिधिले मतपत्र च्यातिएको आरोपसमेत लगाएका छन्। स्थिति थप जटिल बन्ने संकेत देखिएपछि निर्वाचन समितिले मतदान कार्यक्रम स्थगित गरेको थियो।

बुधबार बिहानसम्म पनि मतदान प्रक्रिया पुनः सञ्चालन हुन नसकेको जनाइएको छ। अधिवेशनस्थलमा आयोजक तथा निर्वाचन समितिका जिम्मेवार पदाधिकारीहरू अनुपस्थित रहेको भन्दै प्रतिनिधिहरूले व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पर्याप्त तयारीबिनै निर्वाचन प्रक्रिया अघि बढाइएकाले रातभर अधिवेशनस्थलमै बस्नुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ।

अधिवेशनबाट ६५ सदस्यीय बागमती प्रदेश कार्यसमिति चयन गरिनेछ। सभापति पदका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर (एचबी) खत्री प्रतिस्पर्धामा छन्। प्रारम्भिक रूपमा पाँच जनाको उम्मेदवारी परे पनि बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चार जनाबीच प्रतिस्पर्धा हुने भएको हो।

सभापतिसहित विभिन्न पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो भने सदस्य पदका लागि ८८ जनाले उम्मेदवारी दिएका थिए। तर मतदान सुरु भएसँगै उत्पन्न विवादले अधिवेशनको कार्यतालिका प्रभावित बनेको छ।

निर्वाचन अवरुद्ध भएपछि पार्टी नेतृत्व, आयोजक समिति र निर्वाचन समितिबीच समस्या समाधान गरी मतदान पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ। रास्वपाले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको हो, जहाँ १३ जिल्लाका प्रतिनिधिहरू नयाँ नेतृत्व चयनका लागि सहभागी भएका छन्।