सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सुधन गुरुङबारे छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय, रेडक्रसमा भण्डारीको अध्यक्षतामा तदर्थ समिति गठन

मंगलबार, जेष्ठ २६ २०८३

काठमाडौं । मन्त्रिपरिषद् बैठकले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले समितिको प्रतिवेदन औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको हो।

सम्पत्ति तथा अन्य विषयमा विवाद उत्पन्न भएपछि तत्कालीन गृहमन्त्री गुरुङले पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले घटनाबारे अध्ययन तथा छानबिन गर्न विशेष समिति गठन गरेको थियो। समितिले आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाइसकेको छ।

यसैबीच मन्त्रिपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीमा तदर्थ समिति गठन गर्ने निर्णय पनि गरेको छ। निर्णयअनुसार दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

भण्डारी यसअघि नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्।

सरकारले रेडक्रसको संगठनात्मक व्यवस्थापनलाई प्रभावकारी बनाउन तदर्थ समिति गठन गरेको जनाएको छ। साथै सुदन गुरुङसम्बन्धी प्रतिवेदन ग्रहण गर्ने निर्णयसँगै उक्त विषयमा सरकारको आगामी कदमबारे पनि चासो बढेको छ।