सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

काठमाडौं सडक सहयोगापेक्षी मानवमुक्त घोषणा, महानगर–प्रहरी–प्रशासन–आश्रमबीच सहकार्य सम्झौता

मंगलबार, जेष्ठ २६ २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त क्षेत्र घोषणा गरेको छ। सोमबार आयोजित विशेष कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘जो बेसहारा, काठमाडौं महानगरपालिकाको अभिभारा’ भन्ने नारासहित काठमाडौंलाई सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गरेकी हुन् ।

अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महानगरपालिकाले नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं र मानव सेवा आश्रमसँग त्रिपक्षीय तथा बहुपक्षीय सहकार्यको सम्झौता गरेको छ। सार्वजनिक स्थल वा सडकमा भेटिने सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, संरक्षण तथा व्यवस्थापनलाई एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको जनाइएको छ।

सम्झौतामा काठमाडौं महानगरपालिकाका तर्फबाट कार्यवाहक प्रमुख सुनिता डंगोल, नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल तथा मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौंलाई सांस्कृतिक तथा सभ्य सहरका साथै मानवताको सम्मान गर्ने सहरका रूपमा स्थापित गर्न सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको बताइन्। उनले यस अभियानलाई दीर्घकालीन र प्रभावकारी बनाउन सबै सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवता प्रवर्द्धनको अभियानमा कुनै कमजोरी हुन नहुने बताउँदै सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्ने धारणा राखेका थिए ।

महानगरपालिकाले विसं २०७४ सालदेखि मानव सेवा आश्रमसँग सहकार्य गर्दै सडकमा रहेका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार तथा व्यवस्थापनका लागि वार्षिक रूपमा औसत दुई करोड रुपैयाँ खर्च गर्दै आएको जानकारी दिइएको छ।

यसै अवसरमा मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा सञ्चालित ‘मेची–महाकाली अभियान’को समापन घोषणा पनि गरिएको छ। अभियानअन्तर्गत देशभरबाट एक सय ९७ जना सहयोगापेक्षी व्यक्तिको उद्धार तथा व्यवस्थापन गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

फाउन्डेसनकी अध्यक्ष आनी छोइङ डोल्माले मानवताको सेवाका लागि गरिएको यो सहकार्यलाई ऐतिहासिक र महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै यस दिनलाई आफूले विशेष रूपमा स्मरण गर्ने बताइन् ।

कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा संस्कृतिविद् एवं मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डनलगायतले मानवता, सामाजिक उत्तरदायित्व र सहयोगापेक्षी व्यक्तिहरूको संरक्षणका विषयमा धारणा राखेका थिए ।

सम्झौताअनुसार अभियानको प्रभावकारी कार्यान्वयन, कार्यक्रम सञ्चालन, स्रोत–साधन व्यवस्थापन तथा नियमित अनुगमनका लागि सम्बन्धित निकायका प्रतिनिधिहरू सम्मिलित एक समन्वय समिति गठन गरिनेछ। समितिले नियमित बैठकमार्फत उद्धार, पुनर्स्थापना र व्यवस्थापनका गतिविधिहरूलाई थप व्यवस्थित बनाउने जनाइएको छ।