काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ भने १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको जनाएको छ।
पार्टीले जेठ २४ र २५ गते दुई चरणमा जिल्ला अधिवेशन आयोजना गरेको थियो। शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने आइतबार सुरु भएका अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, पाँचथर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, खोटाङ, इलाम र धनकुटामा अधिवेशन सम्पन्न भइसकेको छ। उदयपुरमा भने निर्वाचनको तयारी भइरहेको छ।
मधेस प्रदेशका महोत्तरी, रौतहट, सिरहा, पर्सा र सर्लाहीमा अधिवेशनपछि निर्वाचन प्रक्रिया अघि बढेको छ। सप्तरी र बारामा आज तथा धनुषामा मङ्गलबार अधिवेशन हुने पार्टीले जनाएको छ।
बागमती प्रदेशका दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, रसुवा, सिन्धुली, धादिङ, रामेछाप, चितवन र ललितपुरमा अधिवेशन सम्पन्न भइसकेको छ। सिन्धुपाल्चोकमा भने अधिवेशन स्थगित गरिएको छ।
गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ र गोरखामा अधिवेशन सम्पन्न भएको छ। बागलुङमा कार्यसमिति चयनसम्बन्धी सहमतिपछि उजुरी परेकाले प्रक्रिया रोकिएको छ भने नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा निर्वाचन जारी छ।
लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पाल्पा, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, रोल्पा, अर्घाखाँची र रुपन्देहीमा अधिवेशन सम्पन्न भइसकेको छ।
कर्णाली प्रदेशका कालीकोट, सल्यान, रुकुम पश्चिम, मुगु र जुम्लामा अधिवेशन सकिएको छ भने सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन भइरहेको छ। सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, दार्चुला, अछाम, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा अधिवेशन सम्पन्न भएको छ भने डोटी र बाजुरामा निर्वाचन प्रक्रिया बाँकी रहेको छ।
रास्वपाले जेठ २६ गतेदेखि प्रदेश अधिवेशन सुरु गर्दैछ। पहिलो चरणमा बागमती प्रदेशको अधिवेशन मङ्गलबार हुने तय भएको छ। तल्ला तहका संगठनात्मक संरचनाको अधिवेशन सम्पन्न गरेपछि पार्टी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ।
पार्टीले यसअघि देशभरका ४ हजार २५० वडा र ५१६ पालिकामा पनि अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ।