ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्य अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली आयोजना गरिएको छ।
‘विकासप्रेमी युवा समाज’को आयोजनामा सम्पन्न र्यालीमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले केवलकार परियोजनाले धार्मिक पर्यटनको विकास, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण तथा क्षेत्रीय आर्थिक गतिविधिमा टेवा पुर्याउने भएकाले निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।
फुङ्लिङ बजार परिक्रमा गरेको र्याली वीरन्द्र चोकमा पुगेर सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै वक्ताहरूले केवलकारलाई यातायातको साधन मात्र नभई विकास र समृद्धिको महत्वपूर्ण पूर्वाधारका रूपमा व्याख्या गर्दै यसको निर्माण शीघ्र सम्पन्न गर्न आग्रह गरे।
उनीहरूले केवलकार, जलविद्युत् तथा सडकजस्ता पूर्वाधार आयोजनाले ताप्लेजुङसहित समग्र कोशी प्रदेश र मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने भएकाले यस्ता परियोजनामा अवरोध सिर्जना गर्न नहुने बताए।
वक्ताहरूले परियोजनाको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको अवस्थामा काम रोक्नु उपयुक्त नहुने उल्लेख गर्दै आवश्यक वातावरण सिर्जना गरी निर्माणलाई तीव्रता दिन सरकारसँग माग गरेका थिए।
लामो समयदेखि चर्चामा रहेको पाथीभरा केवलकार परियोजनाले केही वर्षअघि आइएमई समूहको नेतृत्व पाएपछि निर्माणले गति लिएको हो। निर्माण पक्षका अनुसार हालसम्म परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। निर्माण कार्य प्रभावित हुन सक्ने चर्चा भइरहेका बेला परियोजनाको निरन्तरताको पक्षमा दबाब सिर्जना गर्न सद्भाव र्याली आयोजना गरिएको जनाइएको छ।