सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण, द्विपक्षीय सहकार्य विस्तारमा जोड

आइतबार, जेष्ठ २४ २०८३

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमणमा गरेका छन् ।

भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुग्नुभएका मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे ।

वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा तथा जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै पक्षले नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान गरेका थिए। नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय क्षेत्रका सहकार्यप्रति दुवै पक्षले सन्तोष व्यक्त गर्दै सहकार्यलाई अझ विस्तार गर्ने सहमति जनाए।

त्यसैगरी, नेपाल–भारत पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकामा दुवै देशले स्वागत गरेका छन्। उक्त सम्झौताले सीमापार अपराध अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा भारतका विदेशमन्त्री जयशङ्करले सन् २०१५ को भूकम्पपछिको पुनःनिर्माण सहयोगअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा परियोजना नेपाललाई हस्तान्तरण गरे ।

त्यसैगरी, सीमापार विप्रेषण सहज बनाउन भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच ‘पियर–टु–पियर’ आबद्धताको शुभारम्भ गरिएको छ।

डिजिटल सहकार्यअन्तर्गत ‘भोइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्म विकासका लागि डिजिटल इण्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, विकास साझेदारी, व्यापार तथा जनस्तरीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।