काठमाडौँ, २४ जेठ । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ।
सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ।
संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेपछि सन् २०१९ देखि यो दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्द्धन तथा समन्वय डब्ल्युएचओ र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले संयुक्त रूपमा गर्दै आएका छन्।
स्वास्थ्य र समग्र कल्याणका लागि सुरक्षित तथा पोषणयुक्त खाद्यवस्तुमा पहुँच अपरिहार्य मानिन्छ। दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता जोखिमहरू नाङ्गो आँखाले सजिलै पहिचान गर्न नसकिने भएकाले खाद्य सुरक्षालाई चुनौतीपूर्ण विषयका रूपमा लिइन्छ।
डब्ल्युएचओका अनुसार पाँच वर्षमुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब ४० प्रतिशत हिस्सा वहन गर्छन्। यस्ता रोगका कारण प्रत्येक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ। खाद्यजन्य रोगले विशेषगरी महिला, बालबालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्गलाई बढी असर पार्ने गरेको बताइएको छ।
विशेषज्ञहरूले खाद्य सुरक्षालाई उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृङ्खलासँग जोडिएको विषयका रूपमा व्याख्या गरेका छन्। उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी र उपभोगका सबै चरणमा सुरक्षा मापदण्डको पालना गर्न सके खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने उनीहरूको भनाइ छ।
दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानी, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिइएको छ। विज्ञहरूले सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्रै सुरक्षित खाद्यवस्तुको सुनिश्चितता सम्भव हुने बताएका छन्।
‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशसहित मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन तथा दिगो विकासबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका खेल्न आह्वान गरेको छ।