सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

शनिबार काठमाडौं र ललितपुरका ९८ स्थानमा चार घण्टा विद्युत् अवरुद्ध हुने

शुक्रबार, जेष्ठ २२ २०८३

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी स्युचाटार सबस्टेशनको मर्मतसम्भार तथा स्तरोन्नति कार्यका लागि शनिबार (जेठ २३ गते) काठमाडौं र ललितपुरका विभिन्न स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजना, मातातीर्थले जारी गरेको सूचनाअनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुनेछ।

स्युचाटार र टेकु सबस्टेशन अन्तर्गतका कुलेश्वर, कीर्तिपुर, रत्नपार्क तथा पुल्चोक वितरण केन्द्रबाट सेवा प्राप्त गर्ने कुल ९८ स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाइएको छ। तीमध्ये कुलेश्वर वितरण केन्द्रका ५३, कीर्तिपुरका ११, रत्नपार्कका २० तथा पुल्चोकका १४ स्थान प्रभावित हुनेछन्।

प्राधिकरणका अनुसार स्युचाटार सबस्टेशनको १३२ केभी बसलाई सटडाउनमा राखेर आवश्यक मर्मत तथा स्तरोन्नति कार्य गरिने भएकाले विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द गर्न लागिएको हो।

सूचनामा उल्लेख भएअनुसार स्युचाटार र टेकु सबस्टेशनबाट वितरित विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत् सेवा प्रभावित हुनेछ। साथै, सटडाउन अवधिमा काठमाडौं उपत्यकाका अन्य सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत केही असर पर्न सक्ने प्राधिकरणले जनाएको छ।

मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित समय तालिका परिवर्तन हुन सक्ने उल्लेख गर्दै प्राधिकरणले निर्धारित समयभित्र काम सम्पन्न गर्न अधिकतम प्रयास गरिने जनाएको छ। विद्युत् अवरोधका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना समेत गरेको छ।