काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किंदै छन्। संयोगवश, उनी स्वदेश फर्किने दिन नै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा प्रस्थान गर्दै छन्।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीनसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
त्यसैगरी, लामिछानेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेट गरेका थिए। भेटवार्तामा नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ।
लामिछाने नेतृत्वको भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, उनकी पत्नी निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी थिए।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेसहितको टोली आज जेठ २२ गते भारतबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ।