सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रधानमन्त्रीलाई म्यासेज पठाउने सचिवलाई सात घण्टा हिरासतमा राखेर केरकार

शुक्रबार, जेष्ठ २२ २०८३

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर बिहीबार अपराह्न पक्राउ परेपछि राति रिहा भएका छन्। प्रहरीले मोबाइल फोनको अनुचित प्रयोग नगर्ने शर्तमा उनलाई छोडेको जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कपनस्थित निवासबाट पक्राउ गरी सोधपुछका लागि कार्यालय लगेको थियो। करिब सात घण्टा हिरासतमा राखेर अनुसन्धान गरेपछि पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा रिहा गरिएको स्रोतले जनाएको छ। श्रेष्ठ नेपाल सरकारकी सहसचिव हुन्।

प्रहरी स्रोतका अनुसार पुष्करले उच्च पदस्थ व्यक्तिलाई कर्मचारीको पदीय मर्यादाविपरीत अमर्यादित भाषामा एसएमएस पठाएको आरोपमा सोधपुछ गरिएको हो।

स्रोतका अनुसार मुख्यसचिव बन्ने दौडका क्रममा उनले प्रधानमन्त्रीलाई प्रत्यक्ष सन्देश पठाएका थिए। प्रधानमन्त्रीसँग भेटका लागि समय नपाएपछि निजी नम्बरमा पठाइएको सन्देशको भाषा कर्मचारी आचरण र मर्यादाअनुकूल नभएको दाबी गरिएको छ।

यद्यपि, पुष्करले भने प्रधानमन्त्री कार्यालय र निजी सचिवालयमार्फत आफ्नो कुरा राख्ने अवसर नपाएपछि सन्देश पठाएको बताएका छन्। उनले आफूले अशिष्ट भाषा प्रयोग नगरेको पनि दाबी गरेका छन्।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार प्रधानमन्त्रीको सचिवालयकै आग्रहमा भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउने शर्तमा उनलाई रिहा गरिएको हो।

पुष्कर आगामी असार २४ गते सचिव पदमा पाँच वर्षे सेवा अवधि पूरा गरी अवकाश हुँदैछन्। उनको अवकाशपछि केही दिनमै वर्तमान मुख्यसचिव सुमनराज अर्याल पनि अवकाश हुने भएकाले मुख्यसचिव पदमा बढुवाको आकांक्षा राखेको चर्चा चलिरहेको छ।

स्रोतका अनुसार उनले संवैधानिक निकाय वा अन्य कुनै लाभको पदमा नियुक्ति हुने अपेक्षासहित प्रधानमन्त्रीलाई सन्देश पठाएको हुन सक्ने आशंका गरिएको छ। सन्देशमा आफ्नो गृहजिल्ला महोत्तरी, प्रधानमन्त्रीसँग निकटता बढाउने चाहना, राजदूत पदका लागि दिएको आवेदन तथा सहयोगको अपेक्षासमेत उल्लेख गरिएको बताइएको छ।