काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भारतको नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
बिहीबार साँझ भएको उक्त भेटवार्तामा दुई पक्षबीच समसामयिक राजनीतिक तथा क्षेत्रीय विषयमा छलफल भएको जनाइएको छ। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका सभापति लामिछाने यतिबेला विभिन्न उच्चस्तरीय राजनीतिक भेटघाटमा सक्रिय रहेका छन् ।
भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर तथा भाजपा नेताहरूसँग समेत भेटवार्ता गरेका छन् ।
रास्वपाका अनुसार प्रवास कमिटीद्वारा आयोजित कार्यक्रममा दिनभर सहभागी भएपछि सभापति लामिछानेले साँझ विशेष दूत गोरसँग भेटवार्ता गरेका छन् ।
उक्त भेटलाई कूटनीतिक तथा क्षेत्रीय राजनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। विशेष दूत गोर यसअघि गत वैशाखमा नेपाल भ्रमणमा आउँदा पनि सभापति लामिछानेसहित रास्वपाका नेताहरूसँग भेटवार्ता गरेका थिए ।
भेटवार्तामा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे भने दुवै पक्षले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।