सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

आगो लगाएर नपुगेर फेरि सम्पत्ति विवरण चाहियो ? खरानी छ, उठाएर लैजा सरकार : ओली

बुधबार, जेष्ठ २० २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहपूर्ण ढंगले अघि बढिरहेको आरोप लगाउँदै सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफूले नमान्ने बताएका छन्।

बुधबार आयोजित पार्टीको सदस्यता नवीकरण तथा विस्तारसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै ओलीले सरकारले नयाँ राजनीतिक शक्ति र नेपाली सेनासँग सम्बन्धित सम्पत्तिको छानबिन नगरी आफू तथा पुराना राजनीतिक दलका नेताहरूलाई मात्र लक्षित गरेको आरोप लगाए।

उनले सम्पत्ति छानबिनका नाममा राजनीतिक प्रतिशोध साँध्ने प्रयास भइरहेको दाबी गर्दै आफूले आयोगसमक्ष बयान नदिने र सम्पत्ति विवरण पनि पेश नगर्ने बताए।

ओलीले भने, “अरूले बयान दिए पनि म बयान दिन्नँ। सम्पत्ति विवरण भरेर पठाउँदिनँ। सरकारले जे गर्न सक्छ, गरोस्। यो राज्य होइन, पूर्वाग्रहको पोको हो।”

उनले आफ्ना सम्पत्तिमाथि आगजनी र क्षति पुर्‍याइएको प्रसंग उल्लेख गर्दै सम्पत्ति विवरण मागिनुको औचित्यमाथि पनि प्रश्न उठाए। “आगो लगाएर नपुगेर फेरि सम्पत्ति विवरण चाहियो ? खरानी छ, उठाएर लैजा सरकार,” भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

अध्यक्ष ओलीको यो अभिव्यक्ति वर्तमान सरकार र सम्पत्ति छानबिन प्रक्रियाप्रति एमालेको कडा असहमतिको रूपमा हेरिएको छ।