काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो निर्वाचनको परिणामपछि देश, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय अस्मितामाथि गम्भीर धक्का पुगेको दाबी गरेका छन्।
काठमाडौंमा जारी ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले निर्वाचनपछिको राजनीतिक अवस्थाले अन्योल, अस्पष्टता र भ्रम सिर्जना गरेको उल्लेख गर्दै त्यसलाई चिर्ने जिम्मेवारी एमालेको काँधमा आएको बताए।
उनले कार्यशालाले पार्टी पंक्तिलाई नयाँ आत्मविश्वास, उत्साह र स्पष्ट राजनीतिक दृष्टिकोण प्रदान गर्दै कार्यकर्ताहरूलाई जनतामाझ सक्रिय रूपमा परिचालन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।
ओलीका अनुसार निर्वाचनको परिणामले एमाले मात्र नभई लोकतान्त्रिक शक्तिहरू, विकास निर्माणका अभियान तथा सुशासनका प्रयासहरूलाई समेत प्रतिकूल असर पुर्याएको छ। उनले पार्टीलाई थप सुदृढ र प्रभावकारी ढंगले अघि बढाउन आवश्यक रहेकोमा जोड दिए।
सम्बोधनका क्रममा ओलीले भदौ २३ र २४ गते भएका घटनालाई पूर्वनियोजित र प्रायोजित षड्यन्त्रको संज्ञा दिए। ती घटनाको उद्देश्य अत्यधिक बहुमत प्राप्त लोकतान्त्रिक सरकारलाई विस्थापित गर्नु रहेको उनको दाबी थियो।
उनले ती घटनामा हिंसा र अराजकता फैलाउने उद्देश्यले विभिन्न तयारी गरिएको आरोप लगाउँदै प्रज्वलनशील पदार्थको प्रयोग, आगजनी र राजनीतिक नेताहरूका घरहरूको खोजी तथा पहिचानजस्ता गतिविधि भएको बताए।