काठमाडौं । नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला आज काठमाडौंमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली ले कार्यशालाको उद्घाटन गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनपछिको अवधिमा ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्। उनले गमलामा रोपिएको बिरुवामा पानी हालेर कार्यशालाको औपचारिक उद्घाटन गरेका थिए।
काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यशाला पार्टीको संगठनात्मक सुदृढीकरण, सदस्यता विस्तार तथा संगठनलाई थप गतिशील बनाउने उद्देश्यले आयोजना गरिएको एमालेले जनाएको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्य का अनुसार कार्यशालामा देशभरका प्रदेश तथा जिल्ला इन्चार्जहरूको सहभागिता रहेको छ। साथै प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटीका अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरू पनि उपस्थित छन्।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा सदस्यता नवीकरण, विस्तार अभियान तथा संगठन सुदृढीकरणका आगामी योजनाबारे छलफल र अभिमुखीकरण गरिने जनाइएको छ।