काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।
समितिले समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामसहितको विवरण सार्वजनिक गर्दै उनीहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति तथा रकम लुकाएको जानकारी भए समितिलाई सूचित गर्न अनुरोध गरेको हो।
समितिले जारी गरेको सूचनामा सार्वजनिक गरिएका सञ्चालकहरूले लुकाएका सम्पत्ति वा आर्थिक स्रोतबारे विश्वसनीय जानकारी भए कार्यालयमा उपलब्ध गराउन आग्रह गरिएको छ।
त्यस्तै, समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूलाई सम्बन्धित संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ति तथा अन्य स्रोत–साधनको पहिचान र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न पनि समितिले आग्रह गरेको छ। साथै नियमित रूपमा समितिको सम्पर्कमा रही बचतकर्ताको रकम फिर्ता, दायित्व व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यमा सहयोग गर्न भनिएको छ।
समितिले सहयोग नगरे कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ। सार्वजनिक गरिएको विवरणमा कुनै त्रुटि वा अद्यावधिक गर्नुपर्ने विषय भए सम्बन्धित व्यक्तिलाई समितिको कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।