काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
रास्वपाले जनाएअनुसार लामिछानेले मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा पुगेर पार्टीका शीर्ष नेताहरूसँग राजनीतिक तथा कूटनीतिक विषयमा छलफल गरेका थिए। उनले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तथा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको बताइएको छ।
त्यसैगरी, लामिछानेले भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेट गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। ती भेटहरूमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलबीचको संवाद र सहकार्यका विषयमा विचार–विमर्श भएको बताइएको छ।
रास्वपाका अनुसार दुई छिमेकी राष्ट्रबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा लोकतान्त्रिक मूल्य–मान्यतासम्बन्धी संवादलाई विस्तार गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको हो। साथै भेटवार्ताका क्रममा सांगठनिक सुदृढीकरण, तल्लो तहसम्म जनसम्पर्क विस्तार, विकासमुखी सुशासन तथा समकालीन राजनीतिमा नयाँ पुस्ताको नेतृत्वदायी भूमिकासम्बन्धी अनुभव आदानप्रदान भएको उल्लेख गरिएको छ।
भ्रमण टोलीमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरा पनि सहभागी रहेका छन्। भाजपाको निमन्त्रणामा भारत पुगेको टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ।