काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह सरकार र संसद्प्रति पूर्ण रूपमा उत्तरदायी रहेको बताएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले प्रधानमन्त्रीले हालै संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएको र आवश्यकता परे पुनः सदनमा उपस्थित हुन तयार रहेको बताए।
‘हामीले देखेकै छौँ, प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ। उहाँले केही दिनअघि सदनमा उपस्थित भएर जवाफ दिनुभएको थियो र आवश्यकता परेमा फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिनुहुनेछ,’ पोखरेलले भने।
नेपाल–भारत सीमा विवादबारे बोल्दै उनले उक्त विषय दुई देशबीचको संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताए। दुवै देशले आपसी वार्ता र समझदारीमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको उनको भनाइ थियो।
‘सीमा विवादको विषय दुई देशबीचको संवाद र टेबल टकमार्फत समाधान गर्नुपर्ने विषय हो। नेपाल र भारत दुवै पक्षले यस विषयलाई आपसी संवादबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्,’ उनले भने।
मन्त्री पोखरेलले सीमा सम्बन्धी विषयमा आवश्यक प्रक्रिया र पहल परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक ढङ्गले अघि बढिरहेको पनि जानकारी दिए।