सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

कांग्रेसले छायाँ सरकार गठन गरेको होइन : नेता आङ्देम्बे

मंगलबार, जेष्ठ १९ २०८३

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ वा ‘छायाँ सरकार’ गठन नगरेको बताएका छन्।

कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई छायाँ सरकारका रूपमा व्याख्या गर्नु उचित नहुने उनले बताए।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको उल्लेख गर्दै आङ्देम्बेले यसको उद्देश्य संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउनु मात्र रहेको बताए। उनले सरकारको विकल्पका रूपमा कुनै समानान्तर संरचना खडा गर्ने उद्देश्य नरहेको स्पष्ट पारे।

विगतमा नेपाली राजनीतिमा ‘छायाँ सरकार’ भन्ने शब्दावली प्रयोग हुने गरेको भए पनि कांग्रेसले हाल त्यस्तो कुनै संरचना नबनाएको उनको भनाइ थियो।

आङ्देम्बेले विषयगत समितिमार्फत सरकारका कामकारबाहीको अध्ययन, अनुगमन र संसदीय भूमिकालाई प्रभावकारी बनाउने प्रयास गरिएको बताए।