सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’मा केन्द्रित गर्न रवि लामिछानेको प्रस्ताव

मंगलबार, जेष्ठ १९ २०८३

काठमाडौँ । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत भू–राजनीतिक बहस र खिचातानीभन्दा माथि उठाएर ‘विकास कूटनीति’मा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका छन्।

भारतीय अखबार हिन्दुस्थान टाइम्समा मंगलबार प्रकाशित आफ्नो लेखमार्फत लामिछानेले नेपालको बदलिँदो राजनीतिक परिदृश्य तथा भारतसँगको सहकार्यका नयाँ सम्भावनाबारे धारणा सार्वजनिक गरेका हुन्।

लेखमा उनले नेपालमा हालै देखिएको राजनीतिक परिवर्तनलाई ‘ब्यालेट बक्स क्रान्ति’को संज्ञा दिँदै नयाँ पुस्ताको नेतृत्व विगतका राजनीतिक र ऐतिहासिक बोझबाट मुक्त रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी को उदयले सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई केन्द्रमा ल्याएको उल्लेख गर्दै उनले भारतसँगको सम्बन्धलाई पनि आर्थिक रूपान्तरणको प्रमुख आधार बनाइनुपर्नेमा जोड दिएका छन्।

लामिछानेले केवल खुला सिमानाले मात्र दुई देशबीचको सम्बन्धलाई पर्याप्त नबनाउने उल्लेख गर्दै आर्थिक एकीकरण आवश्यक रहेको बताएका छन्। उनले रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण, काठमाडौँ–बेङ्गलुरु डिजिटल कोरिडोरको अवधारणा तथा पोखरा र लुम्बिनी बाट भारतका विभिन्न सहरमा सिधा हवाई उडान विस्तार गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

त्यसैगरी नेपालको जलविद्युत् क्षमतालाई भारतको औद्योगिक विकाससँग जोड्न सकिने तथा सीमावर्ती क्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्न द्विपक्षीय सहकार्यको सम्भावना रहेको उनको धारणा छ।

सीमा विवाद तथा अन्य लम्बित विषयबारे चर्चा गर्दै लामिछानेले अति–राष्ट्रवादी नाराले समाधान नदिने तर्क गरेका छन्। यस्ता विषयलाई ऐतिहासिक तथ्य, प्रमाण र व्यावहारिक संवादका आधारमा समाधान गर्नुपर्ने उनको भनाइ छ।

उनले एक स्थिर, समृद्ध र आर्थिक रूपमा सबल नेपाल भारतको सुरक्षाका लागि समेत रणनीतिक रूपमा महत्वपूर्ण हुने बताएका छन्।

लेखमा उनले नरेन्द्र मोदी ले सन् २०१४ मा नेपाल भ्रमणका क्रममा व्यक्त गरेको ‘बोर्डरलाई ब्रिज बनाउने’ अवधारणालाई स्मरण गर्दै अब पुरानो अविश्वास त्यागेर विश्वास, सहकार्य र साझा समृद्धिको नयाँ अध्याय सुरु गर्नुपर्ने उल्लेख गरेका छन्। साथै नेपालको युवा नेतृत्व भारतसँग पारदर्शी, सम्मानजनक र परिणाममुखी साझेदारीका लागि तयार रहेको सन्देश पनि दिएका छन्।