काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आज नितिन नबिन लगायत भारतीय जनता पार्टीका उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहनुभएका लामिछानेले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा हुने भेटवार्तामा सहभागी हुनेछन्। रास्वपाका प्रवक्ता मनिष झा का अनुसार छलफल छिमेकी दुई देशका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणमा केन्द्रित रहनेछ।
सभापति लामिछाने सोमबार भारत प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्या को भ्रमण पनि गर्ने कार्यक्रम छ।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावास, नयाँ दिल्ली ले भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटघाट तथा कार्यक्रमलाई सहज बनाउन आवश्यक समन्वय गरिरहेको जनाएको छ।