काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह को विवादास्पद अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन माग गरेको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ तत्काल सच्याउन आग्रह गरेका हुन् ।
विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राष्ट्रिय हितका विषयमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउनुपर्ने उल्लेख गरिएको छ ।
पार्टीले भारतद्वारा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा हुँदै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरेर नेपालले समेत भारतको भूभाग कब्जा गरेको भन्ने अभिव्यक्ति “गम्भीर राष्ट्रघात” भएको दाबी गरेको छ ।
विज्ञप्तिमा सुगौली सन्धि तथा ऐतिहासिक सीमा स्तम्भका आधारमा नेपाल–भारत सीमारेखा निर्धारण भएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा हुने खेतीयोग्य जमिन र सम्पत्तिको दोहोरो उपयोगलाई ‘कब्जा’ भन्न नमिल्ने तर्क गरिएको छ । यसलाई “जग्गा भोगचलन को अवस्था मात्र भएको पार्टीको भनाइ छ ।
त्यसैगरी, प्रधानमन्त्रीको अभिव्यक्तिले संविधानको मर्म विपरीत राष्ट्रिय स्वाधीनतामाथि प्रहार गरेको आरोप पनि लगाइएको छ ।
पार्टीले नेपालले भारतको कुनै पनि भूभाग कब्जा नगरेको तथ्यमा आधारित भएर मात्रै दाबी कायम रहनुपर्ने उल्लेख गर्दै लिम्पियाधुरा क्षेत्रमा नेपालको दाबी कायम राखी जारी गरिएको ‘चुच्चे नक्सा’ को प्रसंग पनि उठाएको छ ।
सीमा समस्या समाधानका लागि गठित प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन भारतले हालसम्म सार्वजनिक नगरेको भन्दै यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियता, स्वाधीनता र अखण्डतामा गम्भीर असर पारेको निष्कर्ष निकालेको छ ।