काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ।
बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।
आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत शुक्रबार संघीय संसद्मा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए ।
आजको बैठकमा अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। उक्त प्रस्ताव प्रस्तुत भएपछि बजेटमाथिको औपचारिक सामान्य छलफल सुरु हुनेछ।
सभामुख डोलप्रसाद अर्यालले बजेटमाथि जेठ १८, १९ र २० गते लगातार तीन दिन छलफलका लागि समय निर्धारण गरेका छन्।
छलफलका क्रममा सांसदहरूले बजेटका विभिन्न पक्षबारे धारणा राख्नेछन् भने उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्रीले दिने कार्यक्रम रहेको छ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा हुने छलफललाई राजनीतिक तथा आर्थिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।