काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गरेका विद्यार्थीहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा आइतबार सार्वजनिक गरिएको महानगरपालिकाले जनाएको छ। उक्त छात्रवृत्ति महानगरभित्र सञ्चालित संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८३/८४ मा अध्ययनका लागि प्रदान गरिनेछ।
महानगरका अनुसार परीक्षार्थीहरूले अनलाइन आवेदन भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति तथा मोबाइल वा इमेलमार्फत प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न सक्नेछन्।
महानगरका शिक्षा अधिकारी तथा परीक्षा समितिका संयोजक नमराज ढकालले प्रकाशित नतिजा प्रारम्भिक भएकाले चित्त नबुझेका विद्यार्थीले जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सक्ने जानकारी दिए।
परीक्षामा एक विद्यार्थीले सर्वाधिक ९२ अङ्क प्राप्त गरेका छन्। यस्तै, एक विद्यार्थीले ९१ अङ्क प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन् भने पाँच विद्यार्थीले ९० अङ्क ल्याएर तेस्रो स्थानमा रहेका छन्।
महानगरपालिकाले नतिजाप्रति असन्तुष्ट विद्यार्थीलाई एक हजार रुपैयाँ राजस्व दाखिला गरी प्रवेशपत्रको प्रतिलिपिसहित शिक्षा विभागमा पुनर्योगका लागि आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ।
महानगरले छात्रवृत्तिका लागि गत जेठ ३ गते सूचना प्रकाशित गरेको थियो। छात्रवृत्ति छनोट परीक्षा ८३ वटा परीक्षा केन्द्रमा सञ्चालन गरिएको थियो।
परीक्षाका लागि २६ हजार ८८८ जनाले अनलाइन आवेदन दिएका थिए। तीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो। स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएको महानगरपालिकाले जनाएको छ।