मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

गणतन्त्रले साझा राष्ट्र निर्माणको सङ्कल्पमा अभिप्रेरित गरेको छ : राष्ट्रपति पौडेल

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललेले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गर्नुका साथै समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर प्रदान गरेको बताएका छन् ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले देशवासीलाई एकताबद्ध बनाएको र साझा राष्ट्र निर्माणको सङ्कल्पमा अभिप्रेरित गरेको उल्लेख गरे ।

उनले भने, “यसले देशवासीलाई जोडेको छ, साझा राष्ट्र बनाउने सङ्कल्पमा अभिप्रेरित गरेको छ । यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको महान् प्रेरणा हो ।”

राष्ट्रपति पौडेलले गणतन्त्रले नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिको स्वामित्व प्रदान गरेको उल्लेख गर्दै यसलाई राष्ट्र निर्माणको प्रेरणाका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिए ।

उनले केवल राजनीतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने उल्लेख गर्दै राजनीतिक दल र नेतृत्वलाई अझ सिर्जनशील, विनयशील र जनउत्तरदायी बन्न आह्वान गरे ।

मुलुकको समृद्धिका लागि सुशासन अपरिहार्य सर्त भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले ढिलासुस्ती, अनियमितता र बेथितिलाई अहिलेको प्रमुख चुनौतीका रूपमा औँल्याए ।

साथै, प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहित आर्थिक समृद्धि सुनिश्चित गर्नु आजको मुख्य कार्यभार रहेको उनको भनाइ थियो ।