काठमाडौँ । आज देशभर १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिएको हो।
तत्कालीन सात राजनीतिक दलद्वारा निरङ्कुश राजतन्त्रविरुद्ध सञ्चालन गरिएको जनआन्दोलन तथा विद्रोही नेकपा (माओवादी) ले गरेको सशस्त्र सङ्घर्षको उपलब्धिस्वरूप देशमा गणतन्त्र स्थापना भएको थियो। संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।
गणतन्त्र स्थापनासँगै नेपाली जनताले नागरिक सर्वोच्चता, स्वतन्त्रता, समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था तथा सामाजिक न्यायको अधिकार प्राप्त गरेका थिए। यस दिनलाई वंशीय शासनमाथि जनताको विजयका रूपमा पनि स्मरण गरिन्छ।
लोकतान्त्रिक गणतन्त्रले जनतालाई राजनीतिक अधिकार सुनिश्चित गर्दै समुन्नत र समृद्ध भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने आधार प्रदान गरेको विश्वास गरिएको छ। शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षा तथा गरिबी अन्त्यलाई लोकतान्त्रिक गणतन्त्रको प्रमुख दायित्वका रूपमा लिइएको छ।
जनभावना र जनअपेक्षाअनुसार शासन सञ्चालन गर्नु नै गणतान्त्रिक संविधानको मूल मर्म भएकाले लोकतन्त्रलाई संस्थागत गर्दै नागरिक अधिकारप्रति अटुट प्रतिबद्धता जनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। लोकतान्त्रिक गणतन्त्रलाई राजनीतिक व्यवस्था मात्र नभई जीवनशैली र शासकीय पद्धतिको रूपमा समेत व्याख्या गरिँदै आएको छ।
यसैबीच, गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन् लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ। समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ।
कार्यक्रममा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिनुका साथै आन्दोलन, सङ्घर्ष, जेलनेल र यातना सहने अग्रजहरूको योगदानको स्मरण गरिनेछ। विभिन्न राजनीतिक दलका नेताहरूले लोकतान्त्रिक संस्कृतिलाई सुदृढ बनाउँदै नागरिकलाई अधिकारसम्पन्न र समुन्नत बनाउने दिशामा अझ दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।