काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइलाई बकर इद (इद–उल–अज्हा) को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा अध्यक्ष ओलीले नेपाल विविध आस्था, संस्कार र सभ्यताले भरिएको देश भएको उल्लेख गर्दै यहाँका विभिन्न धर्म र संस्कृतिहरू सहअस्तित्वका आधारमा अघि बढिरहेको बताएका छन् ।
उनका अनुसार मन्दिरको शङ्खनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वर एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुञ्जिने वातावरण नै नेपालको पहिचान हो ।
अध्यक्ष ओलीले विविधताबीचको एकता नै नेपालको प्रमुख शक्ति भएको उल्लेख गर्दै यही सहिष्णुता र सद्भावले देशलाई आत्मिक सहअस्तित्वको भूमिमा रूपान्तरण गरेको धारणा व्यक्त गरेका छन् ।