काठमाडौँ । बकर इद (इद–उल–अज्हा) र गणतन्त्र दिवसको अवसरमा आजदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा परेको छ ।
पर्व, राष्ट्रिय दिवस तथा साप्ताहिक बिदा एकैसाथ परेकाले सरकारी तथा सार्वजनिक सेवाहरू आगामी सोमबारदेखि मात्रै सञ्चालनमा आउने भएका छन् ।
सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा आज जेठ १४ गते सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगको सिफारिसका आधारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।
मन्त्रालयले बकर इदका अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै सार्वजनिक बिदा घोषणा गरिएको उल्लेख गरेको छ ।
आज बिहीबार बकर इदको बिदा परेको छ भने शुक्रबार जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा रहनेछ । त्यसपछि शनिबार र आइतबार साप्ताहिक बिदा परेकाले लगातार चार दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक सेवा बन्द रहनेछन् ।
सरकारी तथा सार्वजनिक सेवाहरू आगामी सोमबार जेठ १८ गतेदेखि पुनः सञ्चालनमा आउने जनाइएको छ ।