काठमाडौं । सांसद अमरेशकुमार सिंहले किसानलाई समयमै मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले रोपाइँको सिजन नजिकिँदै गएको भन्दै सरकारले तत्काल पर्याप्त मलको व्यवस्था गर्नुपर्ने बताए ।
उनले सरकारद्वारा हालसम्म पनि किसानलाई आवश्यक मल उपलब्ध गराउन नसकिएको भन्दै असन्तुष्टि व्यक्त गरे । साथै, उखु किसानको भुक्तानीमा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए ।
उनले भने, “उखु किसानले अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् । यसमा म सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु कि चाँडै उखु किसानको भुक्तानी होस् र अनुदान पनि छिटो उपलब्ध होस् । दोस्रो कुरा रोपाइँको सिजन सुरु हुन लागेको छ, पर्याप्त मलको व्यवस्था होस् । तेस्रो बागमती नदीको कटानको उचित व्यवस्थापन गरियोस् ।”
सांसद सिंहले बागमती नदीको कटानबाट प्रभावित नागरिकलाई राहत दिने विषयमा पनि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरे ।