काठमाडौँ । नेपाली सेनाले विगतका वर्षमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले सङ्घीय, प्रदेश तथा स्थानीय तहका निकाय, अन्य सुरक्षा संस्था, गैरसरकारी सङ्घसंस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकार्यलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको बताए ।
उनले विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक सङ्ख्यामा सेना तयारी अवस्थामा राखिएको जानकारी दिए । साथै, प्रदेशस्थित सबै पृतनामा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको उनको भनाइ छ ।
प्रवक्ता बस्नेतका अनुसार दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पु¥याउन हेलिकप्टर तथा अन्य हवाई साधन तयारी अवस्थामा राखिएको छ । काठमाडौँबाहेक सुर्खेत र इटहरीमा एक÷एक हेलिकप्टर ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएको उनले बताए ।
मनसुन सुरु भएसँगै सातै प्रदेशमा परिचालन गर्न सकिने गरी अन्य हवाई साधन पनि काठमाडौँमा तयारी अवस्थामा राखिने सेनाले जनाएको छ । मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधन उपयुक्त स्थानमा पूर्वतैनाथ गर्ने योजना रहेको पनि उनले बताए ।
बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न धादिङको गजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा एक÷एक सेट बेलिब्रिज तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ । साथै, गाडीमार्फत तुरुन्तै आवश्यक स्थानमा पु¥याउन सकिने तीन वटा द्रुत यान्त्रिक पुल गौचरस्थित ब्यारेकमा राखिएको जानकारी दिइएको छ ।
विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोली गौचर ब्यारेकमा तयारी अवस्थामा राखिएको र आवश्यक पर्दा हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तुरुन्त परिचालन गर्न सकिने सेनाले जनाएको छ ।
मनसुनजन्य विपद्का समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति, उपकरण तथा औषधि तयारी अवस्थामा राखिएको प्रवक्ता बस्नेतले बताए । प्रत्येक पृतनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्रीको व्यवस्थासमेत गरिएको उनले जानकारी दिए ।
आवश्यक परेमा सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ र ‘अपरेटर’सहितका सवारीसाधन तुरुन्त परिचालन गर्न सकिने गरी तयारी गरिएको सेनाले जनाएको छ । यसबाट पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विपद् व्यवस्थापन केवल एक निकायको प्रयासबाट सम्भव नहुने भएकाले स्थानीय समुदाय र सरोकारवाला निकायबीच योजनाबद्ध समन्वय आवश्यक रहेको सेनाले जनाएको छ । विगतका मनसुनजन्य विपद्बाट सिकेका पाठका आधारमा केन्द्रदेखि जिल्ला तहसम्म सरोकारवाला निकाय र स्थानीय समुदायको सहभागितामा तयारीलाई प्रभावकारी बनाइएको सेनाको भनाइ छ ।
यसै क्रममा सेनाको नेतृत्वमा नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा गत वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा केन्द्रीय तहको एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ सञ्चालन गरिएको थियो । उक्त अभ्यासबाट विपद् प्रतिकार्य क्षमता अभिवृद्धि तथा निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको सेनाले जनाएको छ ।
स्थानीय समुदायको सहभागितामा सामूहिक विपद् प्रतिकार्य तालिमसमेत सञ्चालन गरिएको जनाउँदै सेनाले यस्ता अभ्यास र तालिमले विपद्को समयमा नागरिक र सुरक्षा निकायबीचको समन्वय थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।
प्रवक्ता बस्नेतले प्रत्येक वर्ष दोहोरिने मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि पूर्वतयारी योजनाअनुसार संयुक्त अभ्यास सञ्चालन गर्दै आवश्यकताअनुसार सबै सरोकारवाला निकायसँग सहकार्य गरी जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताए ।
सेनाले गरेको व्यापक पूर्वतयारीले विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउनुका साथै नागरिकमा सुरक्षा र भरोसाको भावना अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।